Need Help ?
Call: +977- 075520119

जिल्लाको बारेमा

स्वागत छ जिल्ला शिक्षा कार्यालय पाल्पामा !!!

शिक्षा सवै प्रकारका विकासहरुको प्रमुख ढोका हो। स्तरीय र व्यवहारिक शिक्षा विना सामाजिक परिवर्तनको कल्पना गर्न पनि सकिदैन। यस जिल्लामा शिक्षाको विकास र प्रचार प्रसारको लागि जिल्ला स्तरीय कार्यालयको रुपमा वि. सं. २०१८ सालमा जिल्ला शिक्षा निरीक्षकको कार्यालयको रुपमा स्थापना भएको हो। 

      समुन्द्र सतहबाट १५२ मी. देखि १९३६ मी. सम्मको उचाईमा अवस्थित यस पाल्पा जिल्लाको क्षेत्रफल १३७३ वर्ग कि.मी. अर्थात १३७२९३ हेक्टर रहेको छ । भौगोलिक रुपमा यस जिल्लाको फैलावट २७०२४' देखि २७ डिग्री ५ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री १५ मिनेट देखि ८४ डिग्री २२ मिनेट पूर्वी देशान्तर सम्म रहेको छ । भौगोलिक सिमानालाई हेर्दा पूर्वमा नवलपरासी र तनहूँ, पश्चिममा अर्घाखाँची र गुल्मी, उत्तरमा स्याङ्जा र गुल्मी, दक्षिणमा रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाहरु रहेका छन् । नेपाल अधिराज्यका उत्तम हावापानी मानिने जिल्लाहरु मध्ये पाल्पा जिल्ला पनि एक हो । यस जिल्लाको तापक्रम ४ डिग्री सेन्टिग्रेड देखि ३२ डिग्री सेन्टिग्रेड सम्म पुग्दछ । वार्षिक वर्षा सरदर १९०३ मिलिलिटर हुने गरेको छ । चुरे तथा महाभारत श्रेणीमा पर्ने दक्षिण–पश्चिमबाट पूर्वोत्तर तेर्सिएका उच्च लेक–मस्याम, रिघिमा, हात्तिलुङ्ग, नुवाकोट, कौडे आदि पर्दछन् । त्यसैगरी सुके, नन्दन र सत्यवती जस्ता ताल तलैया र धार्मिक महत्व बोकेको प्रसिद्ध कालिगण्डकी नदी, मध्य पाल्पामा अवस्थित माडीफाँट लाई सिञ्चित गर्दै बगेको तिनाउ नदी यस जिल्लाका महत्वपूर्ण नदीहरु हुन भने पूर्वी पाल्पामा प्रवाहित निस्दी, पश्चिम–दक्षिण पाल्पामा प्रवाहित दोभान यस जिल्लाका अन्य महत्वपूर्ण नदीहरु हुन् ।

      पाल्पा जिल्ला एउटा पर्यटकीय महत्व बोकेको जिल्ला पनि हो । यहाँका पर्यटकीय महत्व बोकेका ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक स्थल र वस्तुहरुमा तानसेनको शीरको रुपमा रहेको श्रीनगर डाँडा, रिडीको प्रसिद्ध ऋषिकेशको मन्दिर, अर्गलीको दरवार भैरवस्थानको भैरव मन्दिर, कालिगण्डकीको किनारमा अवस्थित रानीघाटको रानीमहल, राम्दीको सुनगुफा, ताहूँको रम्भादेवीको मन्दिर, ऐतिहासिक स्थलको रुपमा प्रसिद्ध जीतगढी, बाकुमगढी र नुवाकोटगढी तथा सदरमुकाम तानसेन नगरीभित्र रहेका टुँडीखेल शितलपाटी, अमरनारायण मन्दिर,  रणउज्वेश्वरी भगवती  मन्दिर, मुलढोका आदि रहेका छन् ।

      यस जिल्लामा अनौपचारिक रुपमा शैक्षिक क्रियाकलापहरु परापूर्वकाल देखिनै संचालन हुँदै आएता पनि औपचारिक शिक्षाको थालनीको रुपमा विध्यालयको स्थापना वि. सं. २००४ साल देखि नै भएको पाइन्छ । वि. सं. २००४ सालमा स्थापना भएको पद्मपव्लिक हाई स्कूल यस जिल्लाको पहिलो हाईस्कूल हो । यसैगरी वि. सं. २००७ सालमा मोहनकन्या स्कूल, वि. सं. २००८ सालमा  जनता विध्यालय, वि. सं. २००९ सालमा देववाणी संस्कृत विध्यालय र वि. सं. २०११ सालमा त्रिभूवन इन्टर कलेजको स्थापना भएको देखिन्छ । यसका अतिरिक्त वि. सं. १९८७ मा बिजारोपण भै वि. सं. २००३ सालमा नामाकरण गरिएको धवलपुस्तकालय नेपालकै पुराना पुस्तकालय मध्ये एक मानिन्छ ।

      हाल यस जिल्लामा जम्मा ४९९ विध्यालयहरु सञ्चालनमा रहेका छन् । जसमा प्राथमिक २८२, निम्न माध्यमिक १०१, माध्यमिक ५७ र उच्च माध्यमिक ५९, छन् । यसका अतिरिक्त ३ वटा मदरसा र १ वटा गुरुकुल समेत सञ्चालनमा छन् । यसै गरि प्राथमिक तहमा छात्रा २३५५० र छात्र २३९८६ गरि जम्मा ४७५३६,निम्न माध्यमिक तहमा छात्रा १२०५३ र छात्र ११३१८ गरि जम्मा २३३७१, माध्यमिक तहमा छात्रा ५८०९ र छात्र ५७२३ गरि जम्मा ११५३२ र उच्च माध्यमिक तहमा छात्रा ३४९८ र छात्र २९५३ गरि जम्मा ६४५१ विध्यार्थिहरु  अध्ययनरत छन् । वालविकास केन्द्र ३८० वटा सन्चालनमा रहेका र छात्रा ५३०७ र छात्र ५८९९ गरि जम्मा ११२०६ विध्यार्थिहरु अध्ययरत छन् ।